काठमाडौं । नेकपा एमालेभित्र संसदीय दलका नेता तथा कार्यबाहक अध्यक्ष रामबहादुर थापा ‘बादल’को प्रतिनिधिसभामा दिएको अभिव्यक्तिले नयाँ तरंग पैदा गरेको छ।
बिहीबार संसद बैठकमा थापाले राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०लाई जिताउन नेपाली सेना लगायत विभिन्न समूह लागेको दाबी गरेपछि पार्टीभित्र असन्तुष्टि चुलिएको हो।
विवाद बढेपछि एमालेले शुक्रबार दिउँसो १ बजे आकस्मिक केन्द्रीय सचिवालय बैठक बोलाएको छ।
बैठकको मुख्य एजेण्डा नै थापाको अभिव्यक्तिबारे छलफल रहेको स्रोतले जनाएको छ।
उपाध्यक्ष विष्णुप्रसाद पौडेल, गोकर्ण विष्ट तथा उपमहासचिव योगेश भट्टराईले सार्वजनिक रूपमा थापाको भनाइप्रति असहमति जनाएका छन्।
उनीहरूले उक्त अभिव्यक्तिलाई पार्टीको स्थापित नीति र मान्यताविपरीत रहेको बताएका छन्।
अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि कार्यबाहक अध्यक्ष र संसदीय दलको नेताको जिम्मेवारी पाएका बादलको अभिव्यक्तिले नेतृत्व समन्वय र आन्तरिक रणनीतिमाथि प्रश्न उठाएको छ।
शुक्रबारको सचिवालय बैठकपछि एमालेले यस विषयमा आधिकारिक धारणा सार्वजनिक गर्ने तयारी गरेको छ।