कञ्चनरूप । कञ्चनरूप नगरपालिकामा समाचार सङ्कलनका क्रममा पत्रकार अनिश शेखमाथि नगर प्रमुख ललन प्रसाद गुप्ता र नगर प्रहरीका सदस्यहरूले गरेको कुटपिट तथा दुर्व्यवहारको विरोधमा एक दर्जनभन्दा बढी पत्रकारहरूले बुधबार इलाका प्रहरी कार्यालय कञ्चनपुरमा सामूहिक उजुरी दर्ता गरेका छन्।
पत्रकारहरूले २४ घण्टाभित्र दोषीमाथि कारबाही माग गर्दै चेतावनी दिएका छन्। प्रहरी निरीक्षक लेखबहादुर बिष्टले घटनाको मुचुल्का उठाई कारबाही अघि बढाइने बताएका छन्।
उजुरीमा नगर प्रमुख गुप्ता, नगर प्रहरी सिर्जना भट्टराईलगायतले शेखमाथि जातीय टिप्पणी गर्दै कुटपिट गरेको उल्लेख छ। सो क्रममा उनका मोबाइलका समाचार सामग्रीहरू पनि डिलिट गरिएको बताइएको छ।
घटनापछि स्थानीय पत्रकार, नागरिक समाज र विभिन्न सञ्चारकर्मीहरूले प्रेस स्वतन्त्रतामाथि भएको आक्रमणको घोर निन्दा गर्दै दोषीलाई कानुन अनुसार कारबाहीको माग गरेका छन्।