मोरङ । साविक उपविजेता नेपाल साफ च्याम्पियनसिप २०२३ को समूह चरणबाटै बाहिरिएको छ । भारतको बैङ्लुरुस्थित कान्तारावा स्टेडियममा सम्पन्न खेलमा चीरप्रतिद्वन्द्वी भारतसँग २–० गोलको नतिजामा पराजित हुँदै नेपाल समूह चरणबाटै बाहिरिएको हो । खेलको पहिलो हाफ गोलरहित बराबरी खेलेपनि नेपालले दोस्रो हाफमा त्यहि लय कायम राख्न सकेन । खेलको ६२ औं मिनेटमा भारतका कप्तान सुनिल क्षेत्रीले गोल गर्दै भारतलाई अग्रता दिलाएका थिए । पहिलो गोल गरेपछि निरन्तर नेपालमाथि दबाव बनाएको भारतका महेश नोरिमले ७० औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर पारे । त्यहि अग्रतालाई खेलको निर्धारितसमय सम्म कायम राख्दै भारतले नेपालमाथि शानदार जित निकाल्यो । पहिलो खेलमा पाकिस्तानलाई पराजित गरेको भारतले नेपाललाई हराएसँगै ६ जोडेको छ । पहिलो खेलमा कुवेतसँग ३–१ गोलको नतिजामा पराजित भएको नेपाललाई साफ च्याम्पियनसिपमा सेमिफाइनल सम्भावना बचाउन खेलमा भारतलाई हराउनै पर्ने दबावमा थियो । तर, भारतसँगको हारसँगै नेपालले सानत्वना जितको खोजिमा मंगलबार पाकिस्तानसँग खेल्नेछ । पाकिस्तानपनि लगातार दुई हार बेहोर्दै एक खेल अगावै समूह चरणबाट बाहिरिसकेको छ । नेपाल सामूह ‘ए’ बाट बाहिरिने दोस्रो टिम हो । अब समूह बिजेता बन्न मंगलबार भारत र आमन्त्रित टिम कुवेतबीच मंगलबार प्रतिस्पर्धा हुनेछ ।
साफ च्याम्पियनसिपको समूह चरणबाटै बाहिरियो नेपाल
१० आषाढ २०८०, आइतबार