राजविराज । नेपाल प्रेस युनियन सप्तरीका सदस्यहरु आज सोमबार नेपाल पत्रकार महासंघ शाखा सप्तरीको कार्यालयमा धर्नामा बसेका छन ।
महासंघले सदस्यताको विवाद टुंगो नलगाईकन महासंघ केन्द्र प्रदेश र जिल्लाको नेतृत्व चयनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरेको विरुद्ध नेपाल प्रेस युनियन केन्द्रीय समितिको निर्णय अनुसार सोमबार विहान ११ बजेदेखि १ बजेसम्म धर्ना दिने कार्यक्रम अनुसार महासंघ सप्तरीमा धर्नामा बसेको प्रेस युनियन सप्तरीका अध्यक्ष विनय कर्णले जनाएका छन ।
प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालको अध्यक्षतामा आइतबार बसेको केन्द्रीय सचिवालय बैठकले निर्णय गरे अनुसार महासंघको केन्द्रीय कार्यालय, प्रदेश समितिका कार्यालय र शाखाहरुमा एकै पटक सोमबार देशका सबै शाखामा विहान ११ बजेदेखि १ बजेसम्म धर्ना दिने कार्यक्रम तय गरेकोले सही अनुसार सप्तरीमा पनि धर्ना दिएको सप्तरी अध्यक्ष कर्णले बताए ।
पत्रकार महासंघले आफ्नै संरचना शाखा र प्रदेशले सिफारिस गरेका सदस्य काटेर, चोर बाटोबाट सदस्य थप गरी मतदाता नामावली सार्वजनिक भए पछि प्रेस युनियनले पत्रकार महासंघको केन्द्रीय कार्यालयमा तालाबन्दी गरेर आन्दोलन सुरू गरेको थियो ।
महासंघ सप्तरी शाखाको राजविराजमा रहेको कार्यालयमा युनियनका केन्द्रीय सदस्य जिल्ला नेतृत्वको अगुवाइमा ताला बन्दी गरिएको थियो ।
प्रेस युनियन सप्तरी शाखाले नेपाल पत्रकार महासंघ सप्तरीको कार्यालयमा शनिबार तालाबन्दी गर्दै विरोधमा उत्रिएका छन् ।