बैङ्किङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
२१ कार्तिक २०८१, बुधवार
कञ्चनरूप । सप्तरी प्रहरीले बैङ्किङ कसुर मुद्दाका फरार एक प्रतिवादीलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा नं. ६ घर भएका ३६ वर्षीय चन्दन कुमार सिंहलाई प्रहरी टोलीले बुधवार उनलाई गाउँ मै लुकी बसेको अवस्थामा पक्राउ गरेको हो ।
जग्गा किन्ने नाउँमा सोही ठाउँ निवासी भगवान लाल यादवसँग ४८ लाख ७५ हजार रुपैयाँ सापटी लिएका सिंहले फिर्ता गर्न आलटाल गर्दै आएको र धेरै समय पछि त्यति रकम बराबरको दिएको चेक पनि बाउन्स भएपछि यादव प्रहरीमा पुगेका थिए ।
प्रहरीले बैङ्किङ कसुरमा परेको जाहेरी दर्ता गरी कानुनी प्रक्रिया अघि बढाएपछि अदालतबाट सिंह विरुद्ध पक्राउ पुर्जी जारी गरेपछि पक्राउ गरिएको प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाले जानकारी दिए ।
यस्तै गरी कुटपिट मुद्दाका दुई फरार प्रतिवादीलाई समेत बुधवार पक्राउ परेको सप्तरी प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरूमा सप्तरीको डाक्नेश्वरी नगरपालिका ८ का अजय कुमार खङ्ग र विजय मण्डल रहेका छन । दुवैलाई कैदजरिवानाको भुक्तानका लागी सप्तरी जिल्ला अदालत समक्ष उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।