कञ्चनरूप। पछिल्लो प्रतिनिधिसभा निर्वाचनले मधेशको राजनीतिक इतिहासमै ठूलो मोड ल्याएको छ। दशकौँदेखि मधेशको राजनीतिक प्रतिनिधित्व गर्दै आएका मधेशकेन्द्रित दलहरू यसपटक संघीय संसदमा प्रवेश गर्नबाट लगभग वञ्चित हुने अवस्थामा पुगेका छन्। परम्परागत राजनीतिक शक्ति र मधेश आन्दोलनको भावनाबाट जन्मिएका दलहरू कमजोर बन्दै जाँदा नयाँ राजनीतिक शक्तिले मतदाताको विश्वास जित्दै गएको संकेत मतपरिणामले स्पष्ट पारेको छ। विशेषगरी सप्तरी जिल्लामा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० ले चारवटै निर्वाचन क्षेत्रमा विजय हासिल गर्दै ‘क्लीन स्वीप’ गरेको परिणामले मधेशको राजनीतिक समीकरण नै बदलिएको छ।
आन्दोलनको भावनाबाट सत्तासम्म, तर अहिले अस्तित्वको संघर्ष
वि।सं। २०६४ को मधेश आन्दोलन पछि मधेशको राजनीतिक धरातलमा ठूलो परिवर्तन आएको थियो। त्यही आन्दोलनको भावनाबाट जन्मिएका क्षेत्रीय दलहरूले लामो समयसम्म मधेशको राजनीति नियन्त्रणमा राखे।
जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी र जनमत पार्टी जस्ता दलहरूले मधेशको पहिचान, अधिकार र प्रतिनिधित्वको मुद्दा उठाउँदै आफ्नो बलियो जनाधार बनाएका थिए।
तर यसपटकको निर्वाचन परिणामले ती दलहरूको आधार कमजोर बन्दै गएको स्पष्ट संकेत दिएको छ। एक समय मधेशको राजनीति निर्धारण गर्ने नेताहरू अहिले मतदाताको घरदैलोमा पुगे पनि पुरानो आकर्षण कायम राख्न असफल देखिएका छन्।
प्रभावशाली नेताहरूलाई मतदाताको चुनौती
मधेशको राजनीतिमा प्रभाव राख्दै आएका नेताहरू— उपेन्द्र यादव, सीके राउत, राजेन्द्र महतो, हृदयेश त्रिपाठी, शरदसिंह भण्डारी, सर्वेन्द्रनाथ शुक्ला र राजकिशोर यादव —लाई यसपटक मतदाताले कडा चुनौती दिएका छन्।
एक समय आफ्नै नाम र चुनाव चिह्नको भरमा सजिलै चुनाव जित्ने यी नेताहरू अहिले मतदाताको भरोसा जोगाउन संघर्षरत देखिएका छन्।
राजनीतिक विश्लेषकहरूका अनुसार मतदाताले अब पुराना वाचा र भाषणभन्दा काम र परिणाम खोज्न थालेका छन्।
घट्दो जनमत, बढ्दो वैकल्पिक शक्ति
अघिल्लो निर्वाचनमा मधेशमा नयाँ आशाका रूपमा उदाएको जनमत पार्टी पनि अहिले चुनौतीपूर्ण अवस्थामा पुगेको देखिन्छ।
पार्टी अध्यक्ष सीके राउत को नेतृत्वमा सुरुवाती चरणमा पार्टीले उल्लेखनीय जनसमर्थन प्राप्त गरेको थियो। तर सत्ताको समीकरणमा केन्द्रित भएको आरोप र जनअपेक्षाअनुसार काम गर्न नसकेको धारणा बढेपछि जनमत पार्टीको लोकप्रियता क्रमशः घट्दै गएको विश्लेषण गरिएको छ।
यसबीच बालेन्द्र शाह जस्ता नयाँ अनुहारको उदय र राष्ट्रिय स्वतन्त्र पार्टी को लहरले मधेशमा समेत प्रभाव पार्दै परम्परागत दलहरूलाई थप दबाबमा पारेको देखिन्छ।
राउतको हारः बदलिएको जनमतको संकेत
सप्तरी–२ मा सम्पन्न निर्वाचन परिणामले मधेशको बदलिएको राजनीतिक मनोविज्ञान स्पष्ट देखाएको छ।
रास्वपाका उम्मेदवार रामजी यादवले २८ हजार ४०४ मतसहित विजय हासिल गर्दा सीके राउत भने ९ हजार ८८० मतमा सीमित भए।
जसपा नेपालका उमेशकुमार यादवले १४ हजार २६३ मत ल्याउँदै दोस्रो स्थान हासिल गरे। यसरी हेर्दा राउत विजेतासँग १८ हजार ५२४ मतले पछाडि परेका मात्र होइनन्, दोस्रो स्थानसमेत गुमाउँदै तेस्रो स्थानमा सीमित भएका छन्।
यो परिणाम अघिल्लो निर्वाचनसँग तुलना गर्दा झनै अर्थपूर्ण देखिन्छ। २०७९ को प्रतिनिधिसभा निर्वाचनमा राउतले ३५ हजार ४२ मत ल्याउँदै उपेन्द्र यादवलाई १८ हजार ६३ मतले पराजित गरेका थिए।
मधेश राजनीतिमा नयाँ अध्याय
विश्लेषकहरूका अनुसार यस परिणामले मधेशको राजनीति नयाँ चरणमा प्रवेश गरेको संकेत दिएको छ। लामो समयदेखि क्षेत्रीय मुद्दामा आधारित राजनीति कमजोर बन्दै जाँदा नयाँ राजनीतिक शक्तिहरूले मतदाताको विश्वास जित्दै गएको देखिएको छ। यसअघि २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले सप्तरीका तीन क्षेत्रमा विजय हासिल गरेको थियो।
तर यसपटक भने नयाँ शक्तिका रूपमा उदाएको रास्वपाले चारवटै क्षेत्र जित्दै मधेशको राजनीतिक समीकरणमा ठूलो परिवर्तनको संकेत दिएको छ।