लेटाङ । लेटाङमा शान्ति निर्माणमा स्थानीय सरकार र नागरिक समाजको भूमिका विषयक अन्तरकृया सम्पन्न भएको छ । सामुदायिक विकास मञ्च मोरङले संस्थागत विकास सञ्जाल ललितपुरको साझेदारी र ब्रेड फर द वल्र्ड जर्मनीको आर्थिक सहयोगमा शान्ति निर्माणमा स्थानीय सरकार र नागरिक समाजको भूमिका विषयक १ दिवसीय अन्तरकृया गोष्ठी सम्पन्न गरेको हो ।
लेटाङ नगर प्रमुख भूपेन्द्र कुमार लावतीको प्रमुख आतिथ्यता तथा उपप्रमुख कृष्णकुमारी निरौलाको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा लेटाङ नगरपालिकाले आर्थिक वर्ष ०८०/८१ को वार्षिक बजेट, नीति तथा कार्यक्रममा तर्जुमा गरेका शान्ति निर्माणमा योगदान पुर्याउने कार्यक्रमहरुको बारेमा जानकारी गराइएको छ । साथै भावी योजनामा शान्ति निर्माणका लागि रचनात्मक तरिकाले गर्न सकिने कार्यक्रमहरुको पहिचान गर्ने विषयमा पनि छलफल गरिएको छ ।
कार्यक्रममा समुदायमा शान्ति निर्माणमा प्रत्यक्ष योगदान पुर्याउनका लागि टोल विकास संस्थाहरुको सवलीकरण तथा क्षमता विकास र मेलमिलापकर्ताहरुको क्षमता विकास र परिचालनमा विशेष जोड दिनुपर्ने निश्कर्ष समेत निकालिएको छ ।
कार्यक्रमका बोल्दै प्रमुख अतिथि नगर प्रमुख भूपेन्द्र कुमार लावतीले विकास निर्माणका लागि शान्ति पहिलो शर्त हुने बताउनु भयो । उहाँले शान्ति विना विकास असम्भव हुने भएकाले जातिय, धार्मिक द्वन्द्व हुन नदिन सरकार र नागरिक समाजले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने कुरा व्यक्त गर्नुभयो । उहाँले धार्मिक सहिष्णुता कायम गर्न टेवा पु¥याउन सक्ने गरी लेटाङको वडा नं. १ राजारानीमा १० करोडको लागतमा निर्माणाधिन अन्तरधार्मिक शान्ति स्मारकको बारेमा पनि जानकारी गराउनु भयो ।

कार्यक्रममा लेटाङ नगरपालिका उपप्रमुख कृष्ण कुमारी निरौलाले नगरपालिकाले शान्ति निर्माणको क्षेत्रमा बनाएका कार्यक्रम बारे जानकारी गराउनुभयो । आर्थिक संकटका कारण बजेट सिलिङ कम भएकाले कार्यक्रम तर्जुमा गर्दा अपर्याप्त बजेट रहेको उपप्रमुख निरौलाले जानकारी गराउनु भयो ।
संस्थाका अध्यक्ष रामचन्द्र बुढाथोकीले अध्यक्षता गर्नु भएको गोष्ठीमा वडा नं. ५ का वडाध्यक्ष भुमबहादुर सूर्य मगर, वडा नं. ५ का वडासदस्य श्री रामबहादुर पौडेल, वडा नं. ३ का वडासदस्य श्री नरेन्द्र प्रसाद पराजुली र वडा नं. ४ का वडासदस्य श्री चम्पाथापा मगर तथा लेटाङ नगरस्तरीय नागरिक समाजका पदाधिकारी र सदस्यहरुको समेत सहभागिता रहेको थियो । कार्यक्रममा जनप्रतिनिधि, शिक्षक, नागरिक समाजका सदस्यहरु गरी २५ जनाको सहभागिता रहेको थियो ।