मुख्य समाचार
तरबारले केक काट्दा‘ जन्मदिनको रमाइलो सिधै हिरासतमा ! | घोघी टिप्न गएकी महिला कोशी टप्पुको तलाउमा डुबेर बेपत्ता | खोत्तरदेवी गुफा: भीड बढ्दै, राज्य हराउँदै ,“पार्किङ” र “मेला शुल्क” का नाममा अवैध असुलीको खेल | रूपनगर क्याम्पसमा एकराज ढकाल स्मृति छात्रवृत्ति स्थापना | एक दिनको चमत्कार: कञ्चनरूपको सुनाखरीले फेरि जगायो चासो | सप्तरीका किसानका समस्या संसदमा : अब कार्यान्वयनको चुनौती | कमला–कञ्चनपुर चार लेन सडक विस्तार कार्यमा चरम ढिलाइ | सप्तरी प्रशासनको कडा कदम : सरकारी कार्यालय वरिपरि ‘बिचौलिया’ देखिए तुरुन्त कारबाही | बादलको अभिव्यक्तिले एमालेमा तरंग | मालपोत कार्यालय सप्तरीबाट लेखापढी व्यवसायी पक्राउ |
मुख्य समाचार
तरबारले केक काट्दा‘ जन्मदिनको रमाइलो सिधै हिरासतमा ! | घोघी टिप्न गएकी महिला कोशी टप्पुको तलाउमा डुबेर बेपत्ता | खोत्तरदेवी गुफा: भीड बढ्दै, राज्य हराउँदै ,“पार्किङ” र “मेला शुल्क” का नाममा अवैध असुलीको खेल | रूपनगर क्याम्पसमा एकराज ढकाल स्मृति छात्रवृत्ति स्थापना | एक दिनको चमत्कार: कञ्चनरूपको सुनाखरीले फेरि जगायो चासो | सप्तरीका किसानका समस्या संसदमा : अब कार्यान्वयनको चुनौती | कमला–कञ्चनपुर चार लेन सडक विस्तार कार्यमा चरम ढिलाइ | सप्तरी प्रशासनको कडा कदम : सरकारी कार्यालय वरिपरि ‘बिचौलिया’ देखिए तुरुन्त कारबाही | बादलको अभिव्यक्तिले एमालेमा तरंग | मालपोत कार्यालय सप्तरीबाट लेखापढी व्यवसायी पक्राउ |


राजविराजमा डोजरको गर्जन : वर्षौँदेखि सडक निल्ने संरचनामाथि अन्ततः नगरपालिकाको प्रहार

Kanchan24 312+ समाचार ( )
१८ चैत्र २०८२, बुधवार

राजविराज । एक समय थियो—राजविराजको मुख्य सडकमा हिँड्दा शहरभन्दा बजारको भीड बढी महसुस हुन्थ्यो।

हनुमान मन्दिरदेखि नेता चौकसम्मको सडकमा पसलका टहरा, अस्थायी संरचना र अतिक्रमणले बाटो यति साँघुरिएको थियो कि पैदलयात्री, सवारी चालक र स्थानीयवासी सबैलाई सास्ती हुँदै आएको थियो। तर बुधबार बिहान, राजविराजले धेरै वर्षपछि आफ्नो मुख्य सडकको “सास फेर्ने ठाउँ” फिर्ता पाउन थालेको दृश्य देख्यो।

राजविराज नगरपालिकाले हनुमान मन्दिरदेखि नेता चौकसम्म सडक अतिक्रमण गरी निर्माण गरिएका संरचनामाथि डोजर चलाउँदै हटाउने अभियान सुरु गरेको छ। बुधबार बिहानैदेखि स्थानीय प्रशासनको सहयोगमा नगरपालिकाले सडक क्षेत्रभित्र परेका विभिन्न अस्थायी तथा स्थायी संरचना हटाउन थालेपछि मुख्य बजार क्षेत्रमा लामो समयदेखि थन्किएको बहस एकाएक कार्यान्वयनमा बदलिएको हो।

राजविराज नगरपालिकाकी कार्यबाहक नगर प्रमुख इसरत परविनका अनुसार, मुख्य सडकको बीच भागबाट दायाँ–बायाँ ९र९ मिटर गरी कुल १८ मिटरभित्र पर्ने सबैखाले संरचना हटाइनेछ।

उनले भनिन्, नगरको मेनरोड स्तरउन्नति, विस्तार र सौन्दर्यीकरणलाई प्रभावकारी बनाउन सडक क्षेत्र खाली गराउने अभियान थालिएको हो।

नगरवासीले वर्षौँदेखि भोग्दै आएको मुख्य समस्यामध्ये एक थियो—सडक अतिक्रमण।दुकान अगाडि टहरा, छाना, पर्खाल, सिँढी र अस्थायी संरचनाले सडकलाई साँघुरो मात्र बनाएको थिएन, दुर्घटनाको जोखिम पनि बढाएको थियो। वर्षायाममा हिलो, गर्मीमा धुलो र सवारी चापले राजविराजको मुटु मानिने यो सडक दिनप्रतिदिन अस्तव्यस्त बन्दै गएको थियो। 

कार्यबाहक प्रमुख परविनले बताइन् कि सडक डिभिजन कार्यालयमार्फत ठेक्का प्रक्रिया पूरा भई सडक स्तरउन्नति तथा सौन्दर्यीकरणको काम सुरु भइसकेको छ। यही कार्यलाई सहज बनाउन अतिक्रमण हटाउने काम अघि बढाइएको हो।

“विकासको काम अघि बढ्नुअघि सडकले आफ्नो वास्तविक चौडाइ पाउनुपर्छ,” नगरपालिकाको यो सन्देश बुधबारको कारबाहीले स्पष्ट रूपमा दिएको देखिन्छ।

राजविराजका बासिन्दाले बुधबारको दृश्यलाई सामान्य डोजर कारबाहीभन्दा बढी अर्थ दिएका छन्। धेरैले यसलाई “मुख्य सडकलाई पुरानै स्वरूपमा फर्काउने सुरुवात” भनेका छन् भने कतिपयले “राजविराज अब साँच्चै बदलिँदैछ” भन्ने प्रतिक्रिया दिएका छन्। वर्षौँदेखि मुख्य सडक अतिक्रमणबारे गुनासो सुनिए पनि निर्णायक कदम कमै देखिएको अवस्थामा कार्यबाहक नगर प्रमुख परविनले चालेको यो कदमलाई स्थानीयले साहसी, आवश्यक र समयोचित निर्णयका रूपमा लिएका छन्।

विशेषगरी, परविनले कार्यबाहक प्रमुखको जिम्मेवारी सम्हालेपछि वर्षौँदेखि जटिल बनेको अतिक्रमणको गाँठो फुकाउने प्रयास थालेको भन्दै नगरभित्र उनको सक्रियताको चर्चा चुलिएको छ।राजनीतिक हिचकिचाहट र सामाजिक दबाबका बीच पनि मुख्य सडक खुला गराउने अभियान सुरु हुनु धेरैका लागि आश्चर्य र राहत दुवै बनेको छ। 

राजविराजको कथा केवल एउटा सडकको कथा होइन। यो कथा हो—बिस्तारै साँघुरिँदै गएको शहरले फेरि आफूलाई मिलाउँदै लैजाने प्रयासको।

हनुमान मन्दिरको धार्मिक आस्था र नेता चौकको राजनीतिक प्रतीकबीच फैलिएको यो मुख्य सडक अब केवल गाडी गुड्ने बाटो मात्र नभई, व्यवस्थित, सुन्दर र खुला राजविराजको नयाँ परिचय बन्ने अपेक्षा गरिएको छ।

यदि अभियान निरन्तर र निष्पक्ष ढंगले अघि बढ्यो भने, राजविराजको मुख्य सडकमा अब केवल डोजरको आवाज होइन—एक व्यवस्थित शहरतर्फ अघि बढिरहेको परिवर्तनको आवाज सुनिन थालेको छ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार